प्रधानमन्त्री ओलीले दलाल वर्गको प्रतिनिधित्व गरिरहेको प्रभु साहको आरोप

नेपालभ्युज

प्रधानमन्त्री ओलीले दलाल वर्गको प्रतिनिधित्व गरिरहेको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् ।

आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठग र लुटेराहरूले सरकारकै मिलेमतोमा लुट आतंक मचाएको बताए ।

प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गर्दै उनले भने, ‘तपाईहरूले सुशासन खोजेको हो भने कारबाही किन नगरेको ? म्यानपावरले प्रति व्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउँने कानूनी व्यवस्था छ । तर लाखौं असुली भइरहेको छ । के यो कुरा दुई तिहाई बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन् ?’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार भएको बताउँदै उनले भने, ‘वैदेशिक रोजगारमा ठगिएका युवाहरुले कहिले पैसा फिर्ता पाउँछन् ?’

जनताको समस्या, चाहना, आवश्यक्ता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुटधन्दामा लागेको टिप्पणी उनले गरे । ‘वैदेशिक रोजगारमा भइरहेको कानून विपरितको लाखौं असुली दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ? यो कुरा थाहा नहुने कुरै हुदैन् । सबै मिलेर लुटेका छन् । म्यानपावरदेखी दलालहरूले सरकारकै संरक्षणमा लुटने र बाँडेर खाने धन्दा चलेको छ,’ आजपा अध्यक्ष साहले भने ।

उनले स्वदेशमा रोजगार नपाएर युवाहरु ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए ।

दलाल वर्गको प्रतिनधित्व गरिरहेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धरासायी हुँदै गइरहेको बताउँदै उनले वर्तमान सरकारलाई श्रमजीवि वर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।

म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताए । वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved