काठमाडौं । काङ्ग्रेस महामन्त्रीद्वयले आफ्नो दल सरकार परिवर्तनमा नभएर सत्ता सञ्चालनको कार्यशैली बदल्ने अभियानमा रहेको बताएका छन् ।
सरकारको प्रखर आलोचना र सत्ता परिवर्तनको हल्लापछि नेतृत्वकर्ता दल एमाले सशङ्कित भइहरँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले काङ्ग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका हुन् ।
बुधबार बारा क्षेत्र नम्बर ३ को अधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले सरकार परिवर्तनको पक्षमा काङ्ग्रेस नरहेको बताएका हुन् । ‘अहिले अर्को विकल्प खोज्ने, काङ्ग्रेस यति गैरजिम्मेवार छैन । हामीले देश र जनतासँग वाचा गरेका छौं ०८४ सम्म यही गठबन्धन जान्छ भनेर । हामी वचनमा इमानदार छौं । हाम्रो कारणका कारण गठबन्धन फेरिएको छैन,’ थापाले भने, ‘सरकार बदल्ने होइन, सरकारको काम गर्ने तरिका बदल्ने कुरा गरेका हौँ ।’
काङ्ग्रेस महामन्त्री थापाले आफूहरूले सरकारको निर्णयको रक्षा गर्ने परिस्थिति खोजेको उनले बताए ।‘हामी सरकारले राम्रो गरोस् । ठीक निर्णय होस् भन्ने चाहिरहेका छौं । ताकि–कार्यकर्ताले ‘वा’ भन्न पाइयोस् न,’ उनले भने, ‘काङ्ग्रेसले सरकार बदल्ने होइन, सरकारको काम गर्ने तरिका बदल्न चाहेको हो ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो दल सत्ता परिवर्तनको पक्षमा नरहेको भन्दै सरकारको प्रवृत्तिको विरोध गरेको प्रष्ट्याएका छन् । महामन्त्री शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको टिप्पणी गरेका छन् । ‘गर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन,’ उनले उल्लेख गरेका छन् ।
उनले वर्तमान सरकार नै चल्नुपर्ने तर कार्यशैली बदल्नुपर्ने उल्लेख गरेका छन् ।
शर्माले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामको आलोचना गरेका छन् ।
Facebook Comment
Comment