काठमाडौं । आईपीएल (IPL) को १८औं संस्करणमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आपसमा भिड्दैछन् ।
खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ३२औं खेल हो । अहिलेसम्म दुई टोलीको प्रदर्शन हेर्दा प्ले–अफ चरणमा पुग्न दिल्ली सहज अवस्था छ भने राजस्थानले प्लेअफ चरणमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ने अवस्था छ ।
हेड टू हेडमा राजस्थान अगाडि
आईपीएलमा हालसम्म दिल्ली र राजस्थानबीच २९ खेल भएको छ । त्यसमा दुवै टोलीबीच केवल एक खेलको अन्तर देखिन्छ । राजस्थानले १५ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १४ खेलमा राजस्थानलाई पराजित गरेको छ ।
अरुण जेटली स्टेडियममा यी दुई टोलीबिच हालसम्म नौ खेल खेलिएको छ । त्यसमा भने दिल्ली अगाडि देखिन्छ । यो स्टेडियममा खेलिएको ६ खेलमा दिल्लीले राजस्थानलाई हराएको छ । बाँकी तीन खेलमा राजस्थान विजयी भएको छ ।
आईपीएलमा यी दुई टोली पछिल्लो पटक सन् २०२४ को संस्करणमा आपसमा भिडेका थिए । त्यो खेलमा दिल्लीले राजस्थानलाई हराएको थियो । राजस्थानले अरुण जेटली स्टेडियममा पछिल्लो पटक सन् २०१५ मा खेल जितेको थियो ।
जारी सिजनमा दिल्लीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले दिल्लीका लागि कुल २०० बनाइसकेका छन् ।
दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने कुलदीप यादव हुन् । उनले पाँच खेलमा १० विकेट लिएका छन् । मिचेल स्टार्कले पनि पाँच खेलमा नौ विकेट लिएका छन् ।
यता, राजस्थानका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान सन्जु सामसन हुन् । उनले टोलीका लागि ६ खेलमा कुल १९३ रन बनाएका छन् । उनले एउटा अर्धशतक पनि बनाएका छन् ।
सर्वाधिक विकेट लिने बलर भने वानिन्दु हसरङ्गा हुन् । उनले चार खेलमा ६ विकेट लिएका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
राजस्थान र दिल्लीबीच बुधबारको खेल हुने अरुण जेटली स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९० खेल खेलिएको छ । ४३ खेलमा पहिलो ब्याटिङ गर्ने टोली र ४६ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । एक खेल भने अनिर्णीत रह्यो ।
सम्भावित प्लेइङ-१२
दिल्ली : अक्षर पटेल (कप्तान), अभिषेक पोरेल, ज्याक फ्रेजर म्याकगर्क, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार र करुण नायर ।
राजस्थान : सन्जु सामसन (कप्तान/विकेटकिपर), यशस्वी जैसवाल, नितिश राणा, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, वानिन्दु हसरङ्गा, जोफ्रा आर्चर, महिश तिक्षणा, तुषार देशपाण्डे, सन्दीप शर्मा र कुमार कार्तिकेय ।
Facebook Comment
Comment