नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

नेपालभ्युज

नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

नवलपुर । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष प्रचण्डले बताएका थिए । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डसहितको टोलीले आज (मङ्गलबार) बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुवात गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

अभियानका क्रममा अध्यक्ष प्रचण्डले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए ।

अभियानका क्रममा अध्यक्ष प्रचण्डले नगरपालिकाभित्र रहेका पार्टी निकट शहीद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरूसँग समेत भेटघाट र कुराकानी गरेका थिए । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि अभियानमा सहभागी थिए ।

अध्यक्ष प्रचण्डले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved