काठमाडौं । भारतको सीबीआईको अनुरोधमा फरार हीरा व्यापारी मेहुल चोक्सी बेल्जियममा पक्राउ परेका छन् । यो जानकारी अल इन्डिया रेडियोले एक्सबाट दिएको हो ।
हीरा व्यवसायी चोक्सी र उनका भतिजा नीरव मोदीमाथि पञ्जाब नेशनल बैङ्कबाट हजारौं करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।
यद्यपि, यो सूचीमा केही थप व्यवसायीहरूको नाम पनि छ, जसमाथि विभिन्न मुद्दामा हिनामिनाको आरोप छ । भारतीय अनुसन्धान एजेन्सीहरू पनि यी व्यवसायीहरूको सुपुर्दगीको पर्खाइमा छन् । यसमा चोक्सी र अन्य धेरै जना समावेश छन् । हेरौँ –
मेहुल चोक्सी
सन् २०१८ को सुरुवातमा पञ्जाब नेशनल बैङ्कमा हजारौं करोड रुपैयाँको घोटाला बाहिर आएको थियो । त्यसपछि बैङ्कले मेहुल चोक्सी, नीरव मोदी र अन्य धेरैविरुद्ध उजुरी दर्ता गरेको थियो ।
बैङ्कले दाबी गरेको छ, “यी सबै आरोपीहरूले बैङ्कका अधिकारीहरूसँग मिलेर षड्यन्त्र रचेका थिए र बैङ्कलाई नोक्सान पुर्याएका थिए ।”
फेब्रुअरी २०१८ मा आन्तरिक अनुसन्धान पूरा भएपछि पञ्जाब नेशनल बैङ्कले बम्बई स्टक एक्सचेन्जलाई ठगीको बारेमा जानकारी गराएको थियो । मेहुल चोक्सी कुनै समय भारतको हीरा व्यवसायका पोस्टर ब्वाई थिए ।
चोक्सी र उनका भतिजा नीरव मोदीमाथि सरकारी बैङ्क पञ्जाब नेशनल बैङ्कबाट लगभग १३ हजार ५०० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।
नीरव मोदी
पञ्जाब नेशनल बैङ्कमा भएको हजारौं करोड रुपैयाँको घोटालामा नीरव मोदी पनि एक अभियुक्त हुन् । जनवरी २०१८ मा नीरव भारत छोडेर गएका थिए ।
नीरवलाई मार्च १९, २०१९ मा लन्डनको होबर्नस्थित मेट्रो बैङ्क शाखाबाट पक्राउ गरिएको थियो, जहाँ उनी आफ्नो बैङ्क खाता खोल्न गएका थिए । मे २०२० मा नीरवको प्रत्यर्पण मुद्दा लन्डनको वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा चलिरहेको थियो ।
नीरवको परिवार विगत धेरै पुस्तादेखि हीरा व्यवसायमा संलग्न छ । नीरव मोदीले भारतको खुद्रा ज्वेलरी कम्पनी गीतांजली ग्रुपका प्रमुख मेहुल चोक्सीसँग लगभग १० वर्ष काम गरे ।
यसपछि नीरव मोदीले भारतमा फायरस्टार डायमण्ड नामक कम्पनी सुरु गरे । नीरव हाल लन्डनको जेलमा छन् र उनको जमानत निवेदन धेरै पटक खारेज भइसकेको छ । उनी भारत सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका छन् ।
विजय माल्या
भारत सरकारले किङ्गफिशर कम्पनीका मालिक विजय माल्याले भारतीय बैङ्कहरूलाई ९ हजार करोड रुपैयाँभन्दा बढी ऋण तिर्नुपर्ने दाबी गरेको छ ।
माल्यामाथि आफ्नो किङ्फिसर एअरलाइन्स कम्पनीको लागि बैङ्कहरूबाट ऋण लिएको र त्यो नतिरी विदेश गएको आरोप छ । खराब अवस्थामा पुगेपछि किङ्गफिसर एअरलाइन्स बन्द भएको छ ।
माल्या मार्च २०१६ मा बेलायत गएका थिए । त्यसबेलादेखि उनी लन्डनमा बस्दै आएका छन् । भारतीय एजेन्सीहरूले माल्यालाई भारत ल्याउन बेलायतको अदालतमा कानुनी लडाइँ लडिरहेका छन् ।
वास्तवमा भारत र बेलायतले सन् १९९२ मा सुपुर्दगी सन्धिमा हस्ताक्षर गरेका थिए, तर त्यसबेलादेखि अहिलेसम्म एक जनालाई मात्र सुपुर्दगी गरिएको छ ।
ललित मोदी
आईपीएल अर्थात् इन्डियन प्रिमियर लिगका पूर्व प्रमुख ललित मोदी सन् २०१० देखि बेलायतमा बस्दै आएका छन् ।
मोदीमाथि आईपीएल प्रमुखको रूपमा आफ्नो कार्यकालमा लिलामीमा धाँधली गरेको आरोप छ ।
यद्यपि, उनले सधैं यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् । यसैबीच भारतले उनलाई सुपुर्दगी गर्न धेरै असफल प्रयासहरू गरेको छ ।
वास्तवमा ललितले सन् २००८ मा आईपीएलको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जुन अहिले अर्ब डलरको उद्योग बनेको छ ।
ललितविरुद्धका मुख्य आरोपहरू २०१० मा दुई टोली फ्रेन्चाइजहरूको लिलामीको क्रममा भएको अनियमिततासँग सम्बन्धित छन् । उनीमाथि अनुमति बिना प्रसारण र इन्टरनेट अधिकार बेचेको पनि आरोप लगाइएको थियो ।
सन् २०१३ मा भारतीय क्रिकेट नियन्त्रण बोर्डले ललित मोदीलाई आजीवन क्रिकेट गतिविधिहरूमा भाग लिन प्रतिबन्ध लगायो ।
गुजरातका एक ठूला व्यापारी नितिन सन्देसरा ५,७०० करोड रुपैयाँको बैङ्क ठगी र मनी लान्ड्रिङ मुद्दाका मुख्य अभियुक्त हुन् ।
स्टर्लिङ बायोटेकका मालिक नितिन जे. सन्देसरालाई फरार आर्थिक अपराधी घोषित गरिएको छ । हितेश नरेन्द्रभाई पटेल, दीप्ती सन्देसरा र चेतन सन्देसरा पनि यस मुद्दामा आरोपी छन् ।
सन् २०१७ मा दुई एजेन्सीहरूले अनुसन्धान सुरु गर्नुभन्दा केही दिनअघि परिवार भारत छोडेर दुबई हुँदै नाइजेरिया भागेको थियो ।
सन्देसरा परिवारले त्यसपछि नाइजेरिया र अल्बानिया दुवैको नागरिकता लिएको छ ।
-बीबीसी हिन्दीको सहयोगमा
Facebook Comment
Comment