कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढे : युनिसेफ

नेपालभ्युज

कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढे : युनिसेफ

एजेन्सी । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ ।

उक्त अवधिमा झण्डै १० हजार यौन हिंसासम्बन्धी घटनाहरू सङ्कलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडितहरू बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।

‘हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौँ । यो त गम्भीर मानवअधिकार सङ्कट हो । कतिपय पीडितहरू निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ,’ उनले भने ।

उनले अझै धेरै घटनाहरू डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुनसक्ने भन्दै अहिले उपलब्ध तथ्याङ्क केही अंश मात्रै हुनसक्ने बताए । युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको सुरक्षा र न्यायका लागि तत्काल तथा समन्वित प्रयास गर्न आग्रह गरेको छ ।

‘हामीलाई रोकथामका लागि थप प्रयास, पीडितमैत्री सेवा र उजुरी गर्न सकिने सुरक्षित तथा विश्वसनीय माध्यमहरू आवश्यक छन् । पीडितहरूले महसुस गर्नुपर्छ कि विश्व उनीहरूका पक्षमा उभिएको छ । साथै, अपराध गर्ने व्यक्तिहरूले कानुनी जिम्मेवारी वहन गर्नैपर्छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved