आजपाको केन्द्रीय कमिटी विघटन

नेपालभ्युज

आजपाको केन्द्रीय कमिटी विघटन

काठमाडौं । आम जनता पार्टी (आजपा)ले केन्द्रीय कमिटी विघटन गरी प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन गरेको छ।

कोटेश्वरमा बसेको आजपा स्थायी कमिटी बैठकले महाधिवेशन कमिटी गठन गर्ने निर्णय गरेको हो । यस्तै, तेस्रो जनआन्दोलनलाई सफल बनाउन जिल्ला, पालिकाहरुमा सर्वपक्षीय भेलाबाट जनआन्दोलन परिचालन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको छ ।

‘पार्टी पदाधिकारी सहितको केन्द्रीय कमिटीलाई विघटन गर्दै अध्यक्ष प्रभु साहको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । महाधिवेशनसम्मका लागि विघटित पदाधिकारीहरू अब केन्द्रीय कार्यालय सदस्य हुने, स्थायी कमिटीका सदस्यहरू सचिवालय सदस्य हुने र केन्द्रीय सदस्यहरु स्वतः केन्द्रीय आयोजक सदस्यको रूपमा रहने निर्णय गरिएको छ,’ आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, बैठकले सिंहदरबार घेराउ गर्ने निर्णयसमेत गरेको छ । गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न आउदो १५ जेठमा सिंहदरबार घेराउ गर्ने निर्णय भएको आजपा नेता बालकृष्ण सापकोटाले जनाएका छन् ।

‘आउदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न सिंहदरबार घेराउ गर्ने तथा त्यसका लागि प्रत्येक जिल्ला तथा पालिकाहरूमा सर्वपक्षिय भेलाद्वारा जनआन्दोलन परिचालन समितिहरु गठन गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै बैठकले गत २४ गते काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, अनियमितता एवं लुट बिरुद्ध भएको तेस्रो जनआन्दोलन सभा एवं विरोधप्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ ।

बैठकले आन्दोलनका पछिल्लो कार्यक्रम सफल भएको र दोस्रो चरणको आन्दोलनका बिभिन्न कार्यक्रम तय गरेको छ । आन्दोलनका कार्यक्रममा साथसहयोग गर्नेलाई बैठकले धन्यवाद व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved