काठमाडौं । भारतको गुजरात राज्यस्थित बनासकांठामा एक पटाका कारखाना र गोदाममा आगलागी भएको छ ।
घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एम्बुलेन्स टोलीसँगै अग्निनियन्त्रक र सरकारी अधिकारीहरू उद्धार र राहत कार्यमा संलग्न छन् । आगलागी भएको केही घण्टा बितिसक्दा पनि भग्नावशेषबाट शव निकाल्ने काम जारी छ ।
अधिकारीहरूका अनुसार विस्फोट मङ्गलबार बिहान ९:४५ बजेतिर भएको थियो । जसका कारण भवनको स्ल्याब भत्कियो । जानकारीअनुसार त्यहाँ काम गर्ने कामदारका परिवारहरू पनि त्यहीँ बस्थे । उनीहरु स्ल्याबमुनि पुरिएका हुन् ।
राज्य सरकारले उद्योगमन्त्री बलवंत सिंह राजपूतलाई यस विषयमा हेर्न पठाएको छ ।
यसअघि बनासकांठाका कलेक्टर मिहिर पटेलले भने, “ठूलो विस्फोटका कारण कारखानाको सम्पूर्ण आरसीसी स्ल्याब भत्कियो । हाल जेसीबी मेसिनको सहयोगमा भग्नावशेष हटाउने काम भइरहेको छ । अहिलेसम्म १३ जनाको शव भेटिएको छ ।”
मृतक र घाइते सबै कामदार मध्य प्रदेशको हरदा जिल्लाको हान्डिया गाउँका बासिन्दा हुन् । कारखानाबाट प्राप्त जानकारीअनुसार उनीहरू सबै २ दिन अघि मात्र कामको लागि यहाँ आएका थिए र पटाका बनाउने काम गरिरहेका थिए ।
हाल मृतकहरूको पहिचान भइरहेको छ ।
Facebook Comment
Comment