काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा अभियान चलाउनेविरुद्ध समाजवादी मोर्चाले भण्डाफोर अभियान चलाउने भएको छ ।
सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको समाजवादी मोर्चाको बैठकले व्यवस्था विरोधीविरुद्ध भण्डाफोर चलाउने निर्णय गरेको हो ।
“२०६२/६३ को जनआन्दोलनपछिका उपलब्धीहरूलाई राजावादीहरूले नष्ट गर्ने षड्यन्त्र गरिरहेका छन्, त्यसको विरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय भएको छ,” मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भने । राजावादीहरुको कोटेश्वर हिंसात्मक आन्दोलनमा सम्बन्धमा दोषी पक्षमाथि कारबाही गर्न सरकारसँग प्रतिनिधिमण्डल पठाउने निर्णय भएको उनले बताए ।
त्यस्तै, गएको चैत १५ गते प्रदर्शनी मार्गमा आयोजित समाजवादी मोर्चाको जनप्रदर्शनले कोटेश्वरमा भएको राजावादीहरूको हिंसात्मक आन्दोलनलाई कमजोर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मोर्चाले निष्कर्ष निकालेको छ ।
बैठकले आफ्नो जनप्रदर्शनका कारण राजावादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको निस्कर्ष निकालेको हो । “कोटेश्वरमा देखिएको हिंसात्मक र आतङ्क मच्चाउने खालका गतिविधिहरूलाई रक्षात्मक, कमजोर र निष्प्रभावी बनाउन हाम्रो जनप्रदर्शनले भूमिका खेलेको छ,” प्रवक्ता प्रकाण्डले भने ।
बैठकमा राज्य पक्षको कमजोरीको विषयमा समेत समीक्षा गरिएको थियो । सरकारको धारणा र घटनाको वास्तविक स्थितिलाई हेर्ने सम्बन्धमा अपर्याप्तता रहेको विषयमा छलफल भएको प्रकाण्डले बताए ।
Facebook Comment
Comment