सुरक्षा परिषद्को सदस्य बन्न सहयोग गर्न जर्जियाकी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

नेपालभ्युज

सुरक्षा परिषद्को सदस्य बन्न सहयोग गर्न जर्जियाकी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग भारतको राजधानी नयाँ दिल्लीमा छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच बुधबार बिहान सो भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरूमा कुराकानी भएको पराराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

त्यस भेटका अवसरमा मन्त्री डा. राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यलगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि आग्रह गरिन् ।

साथै मन्त्री राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन् ।

साथै मन्त्री राणाले भेटमा नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरूको सामना गरिरहेको जानकारी गराएकी थिइन् । आफूहरूले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको उनको भनाइ थियो ।

त्यसैगरी मन्त्री राणाले फिलिपिन्सका विदेशमन्त्री मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताइन् । फिलिपिन्स र नेपालबीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved