काठमाडौं । इजरायलले गाजामा गरेको भीषण आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार सय नाघेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारीअनुसार ४१३ जनाको मृत्यु भएको छ । मन्त्रालयले केही व्यक्ति अझै पनि भग्नावशेषमुनि फसेको जनाएको छ ।
इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ६६० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
इजरायलले आक्रमण सुरु गर्नुअघि अमेरिकालाई जानकारी गराएको खुलासा भएपछि हमासले गाजामा भएको नरसंहारको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताएको छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि आक्रमण सुरु गरेको इजरायलको दाबी छ ।
हमासले युद्धविराम सम्झौता उल्टाएकोमा इजरायललाई विश्वासघातको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया दिएको छ । उसले गाजामा रहेका इजरायली बन्धक पनि जोखिममा परेको चेतावनी दिएको छ ।
Facebook Comment
Comment