राष्ट्रिय फुटबल टोलीको बिदाइ

नेपालभ्युज

राष्ट्रिय फुटबल टोलीको बिदाइ

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सिङ्गापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

मङ्गलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङ र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

नेपालले चैत ८ गते सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ र चैत १२ गते एसियन कप छनोटमा मलेसियासँग उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए ।

नयाँ प्रशिक्षक भएपनि त्यसलाई सबैले सहज रुपमा लिएर प्रशिक्षणमा सहभागी भएको उनले बताए । उनले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफको राम्रो तयार हुने समेत उल्लेख गरे ।

मुख्य प्रशिक्षक म्याट रसले सोमबार नै २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । जसअनुसार गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् भने स्ट्राइकर रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टोलीमा फर्किएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved