गाजामा इजरायलको भीषण आक्रमण, हमासका मन्त्रीसहित २२० जनाको मृत्यु

नेपालभ्युज

गाजामा इजरायलको भीषण आक्रमण, हमासका मन्त्रीसहित २२० जनाको मृत्यु

काठमाडौं । इजरायलले  गाजा पट्टीमा भीषण आक्रमण गरेको छ । आक्रमणमा हमासका एक मन्त्रीसहित २ सयभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा कम्तिमा २२० जनाको मृत्यु भएको जनाएको छ ।

मारिएकामध्ये एक जना गाजामा हमासका उपगृहमन्त्री तथा उच्चपदस्थ सुरक्षा अधिकारी महमूद अबु वफाह पनि छन् । अन्यमा बालबालिका र आम नागरिक रहेको हमासले जनाएको छ ।

जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि इजरायलले आक्रमण सुरु गरेको हो ।

इजरायली सुरक्षा बल आइडीएफले हमाससँग सम्बन्धित आतङ्कवादी क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षा मन्त्री इजरायल काट्जले मङ्गलबार बिहान आक्रमणको आदेश दिएका थिए ।

‘हाम्रा बन्धक रिहा गर्न हमासले बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताबाट प्राप्त सबै प्रस्ताव अस्वीकार गरेकाले आक्रमण गरिएको हो ।’ प्रधानमन्त्री कार्यालयको वक्तव्यमा भनिएको छ ।

हमासले युद्धविराम सम्झौता उल्टाएकोमा इजरायललाई विश्वासघातको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया दिएको छ । उसले गाजामा रहेका इजरायली बन्धक पनि जोखिममा परेको चेतावनी दिएको छ । तर, हमासले अझैसम्म युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन, बरु मध्यस्थकर्ता र संयुक्त राष्ट्र सङ्घलाई हस्तक्षेप गर्न आह्वान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved