क्वेटा । पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमलाबाट बसमा सवार पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।
एक आत्मघाती कार बम हमलाकारीले आइतबार दक्षिण–पश्चिम पाकिस्तानमा सुरक्षा बल चढेका बसहरूलाई लक्षित गरी उक्त हमला गर्दा कम्तीमा पाँच अधिकारीको मृत्यु भएको हो ।
साथै अन्य १० जना सुरक्षाकर्मी पनि घाइते भएको पाकिस्तानी प्रहरीले बताएको छ ।
बलुचिस्तानको नौशकी जिल्लामा आक्रमण भएको स्थानीय प्रहरी प्रमुख जफर जमानानीले जानकारी दिए । मृतक र घाइतेहरूलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
कार बम विस्फोटपछि पृथकतावादी विद्रोहीहरूले बसहरूमा गोली चलाएको अधिकारीहरूले बताएका छन् ।
प्रतिबन्धित बलुच लिबरेसन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ । गत हप्ता विद्रोहीहरूले एउटा रेलमा आक्रमण गरी करिब ४०० जनालाई बन्धक बनाएका थिए । सुरक्षा बलले अपरेसन सुरु गर्नुअघि २६ जनाको मृत्यु भयो । अपरेसनका क्रममा सबै ३३ जना आक्रमणकारी मारिएका थिए ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले सुरक्षा बलले आइतबार गोली चलाएको र कम्तीमा चार जना आक्रमणकारी मारिएको बताए ।
तेल र खनिजले समृद्ध बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र सबैभन्दा कम जनसङ्ख्या भएको प्रान्त हो । जातीय बलुच बासिन्दाहरूले लामो समयदेखि केन्द्र सरकारलाई भेदभावको आरोप लगाएका छन् ।
उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ । बलुच लिबरेसन आर्मीले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएको छ ।
Facebook Comment
Comment