काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल र विचौलियासँग मिलेर काङ्ग्रेस र एमालेले माओवादी केन्द्रलाई सत्ता बाहिर पुर्याएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधानको मर्म मिचेर विचौलियाको बलमा माओवादी केन्द्रलाई सरकारबाहिर पुर्याएको बताए । जनताको बलमा फेरि माओवादी केन्द्रले राष्ट्रको नेतृत्व गर्ने उनको दाबी छ ।
“हामीले सुशासनको पक्षमा गरेका काम विचौलियाहरूलाई मन परेन । रातारात गलत तरिकाले लोकतन्त्रको मर्म मिचेर विचौलियाको बलमा हामीलाई सरकारबाट बाहिर पठाइयो । अब हामी फेरि जनताको बीचमा आएका छौँ । जनताकै बलमा माओवादी केन्द्रले राष्ट्रको नेतृत्व गर्नेछ,” उनले भने ।
झापादेखि रौतहटसम्मको अभियानले जनता माओवादीको पक्षमा रहेको देखाएको उनले जिकिर गरे । राजा महाराजाको विषयमा मुलुकमा नौटङ्की सुरु भएको प्रचण्डले बताए । उनले राजवादीलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । “धेरै मुर्खता पहिले पनि भएको छ । अर्को मुर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् । फेरि आउँछु कि भन्ने सपना देखेको हो भने त्यो दिवासपना हुनेछ,” प्रचण्डले भने ।
वर्तमान सरकारले जनतालाई सताइरहेको प्रचण्डको आरोप छ । राम्रो काम गरिरहेकालाई सरकारले सताइरहेको उनले बताए । “जसले अँध्यारो नेपाललाई उज्यालो बनायो त्यसैलाई सताएको छ । किन सताएको हो भने भ्रष्टाचार गर्न सरकारले पाएन,” उनले भने ।
तमाम बेथितिबाट मुलुकलाई पार लगाउन माओवादी केन्द्रले नै मुलुकको जिम्मेवारी लिनुपर्ने बेला आएको प्रचण्डले बताए । “१८ महिनामा हामीले ट्रेलर देखाइयो । अब फिल्म देखाउनुपर्नेछ,” उनले भने ।
यसका लागि आफूहरूलाई सहयोग गर्न प्रचण्डले अपिल गरेका छन् ।
Facebook Comment
Comment