काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई आफूहरूले समर्थन गर्न नसक्नुको कारण खुलासा गरेका छन् ।
इन्डिया टीभीको एक अन्तरक्रियामा उनले तत्कालीन राजा ज्ञानेन्द्र संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको सिद्धान्तमाथि प्रहार गर्दै सक्रिय भएकाले आफूहरूले उनलाई साथ दिन नसकेको बताए ।
‘भारतले नेपालका तत्कालीन दुई पिलर संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आत्मसात गरेको थियो । तर तत्कालीन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिए । यसका विरुद्ध लाखौं जनता सडकमा उत्रिए । हामी जनताको सोही भावनालाई साथ दिएका हौँ,’ उनले भने ।
तत्कालीन राजा ज्ञानेन्द्रकै कदमका कारण नेपालमा गणतन्त्र आएको पूर्वराजदूत रेले प्रष्ट्याए ।
साथै उनले ज्ञानेन्द्रले ‘प्रो-चाइना’ भएर काम गरेको पनि आरोप लगाए । यसैकारण भारत उनीसँग झस्किएको रेको भनाइ छ । ‘तत्कालीन राजाले चीनबाट अत्याधुनिक हतियार खरिद गरे । यो कोविरुद्ध लड्नलाई थियो हामीले बुझ्न सकेनौँ,’ उनले भने ।
त्यस्तै सन् २००५ मा बङ्गलादेशको ढाकामा भएको सार्क सम्मेलनमा चीनलाई सदस्य बनाउनुपर्छ भनेर ज्ञानेन्द्रले प्रस्ताव गरेकोमा पनि रेले असन्तुष्टि जनाए ।
‘ढाकामा भएको सार्क सम्मेलनमा चीनलाई सदस्य बनाउनुपर्छ भनेर ज्ञानेन्द्रले प्रस्ताव राखे । त्यो त हामीले रोक्न सफल भयौँ । तर ऊ परिवेक्षकको रुपमा छिर्यो, जसका कारण आज सार्क निष्क्रिय छ,’ उनले थपे ।
सो अवसरमा उनले समान धर्म–संस्कृति भएका नेपालका राजाहरूले ‘प्रोइन्डिया’ भएर काम नगरेको भन्दै आक्रोशसमेत पोखे ।
पूर्वराजदूत रेलेको अन्तिम निष्कर्ष नेपालमा राजतन्त्र फर्काउनु हुँदैन र हिन्दूराष्ट्र पनि बनाउन दिनु हुँदैन भन्ने निष्कर्ष निकाले । ‘धर्म निरपेक्ष नै ठीक छ, किनकि नेपालका एक पत्रकार साथीले हिन्दूराष्ट्रसँगै राजा पनि झुण्डिएर आउँछन् भनेका थिए,’ उनले सम्झिए ।
नेपालमा २०६२–६३ को जनआन्दोलन ताका रे नै नेपालका लागि राजदूत थिए । त्यो बेला भारतमा कङ्ग्रेस आई नेतृत्वको सरकार थियो । भारतको सोही तत्कालीन सरकारको ‘डिजाइन’मा नेपालको राजसंस्था फालिएको ज्ञानेन्द्र पक्षधरहरूको आरोप छ ।
Facebook Comment
Comment