काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंमा भएको प्रदर्शनले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको निष्कर्ष निकालेको छ।
सोमबार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको छ,’ राप्रपाले भनेको छ ।
‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ,’ निर्णयमा भनिएको छ, ‘यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ ।’
यस्तै बैठकले आन्दोलन लगायतका विविध विषयमा छलफल गर्नका लागि आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय पनि गरेको छ ।
Facebook Comment
Comment