च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग अङ्क बाँडेपनि अष्ट्रेलिया सेमिफाइनलमा

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग अङ्क बाँडेपनि अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अफगानिस्तानसँग अङ्क बाँडे पनि अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १-१ अङ्क बाँडेका थिए ।

समग्रमा ४ अंकसहित अष्टेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यो नतिजासँगै अफगानिस्तान भने समस्यामा परेको छ ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाउँदा वर्षा भएपछि खेल पुन: सुरु हुन सकेन ।

त्यसबेला ट्राभिस हेड ५९ र स्टिभ स्मिथ १९ रनमा अविजित रहेका थिए । म्याट शर्ट २० रनमा आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । सेडिकुल्लाह अटलले सर्वाधिक ८५ र अजमतुल्लाह ओमरजाइले ६७ रन बनाए ।

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको हो । पछिल्लोपटक २००९ को संस्करणमा उसले सेमिफाइनल खेलको थियो ।

अब समूह बी बाट इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

दक्षिण अफ्रिकाले जिते समूहविजेता बन्नेछ भने सामान्य अन्तरले हार्दा पनि उपविजेतका रुपमा सेमिफाइनल पुग्नेछ । इङ्ग्ल्याण्डले ठूलो अन्तरले जित हासिल गरेमा मात्र अफगानिस्तानको सम्भावना रहनेछ ।

समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved