सदनमा गोकुल बास्कोटाको प्रस्ताव : जे पायो त्यहीमा सहयोग नलिऔँ

नेपालभ्युज

सदनमा गोकुल बास्कोटाको प्रस्ताव : जे पायो त्यहीमा सहयोग नलिऔँ

काठमाडौं । एमाले सांसद गोकुल बास्कोटाले अन्तर्राष्ट्रिय सहयोगहरूको सीमा स्पष्ट बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै बास्कोटाले नेपालले अन्तर्राष्ट्रिय स्तरबाट पाउने सहायताहरूको सीमाना स्पष्ट बनाउनु पर्ने माग गरेका हुन् ।

केहीदिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाललाई दिएको सहयोग रकमलाई ‘ठगी’ संज्ञा दिएको विषयलाई उद्धृत गर्दै बास्कोटाले सहयोगको सीमाना निर्धारण गर्नुपर्ने बताएका हुन् ।

बास्कोटाले दृढतापूर्वक कुन सहयोग लिने वा कुन सहयोग नलिने भन्ने विषयको नीति बनाउनु पर्ने माग राखे । “सहयोगहरूले हाम्रो देशको जनजीवन र राष्ट्रिय जीवनमा के फरक पार्दछ परिणाममा के फरक पार्दछ भन्ने कुरा आउनु पर्‍यो,” बास्कोटाले भने, “नत्र भने जे पायो त्यही सहयोग गर्ने कुराले अब हुँदैन ।”

बास्कोटाले अन्तर्राष्ट्रिय सहयोगहरूलाई नेपालको बजेट प्रणालीभित्र प्रवेश गर्नुपर्ने मागसमेत गरे । लोकल एनजीओबाट बजेट खर्च भएको भन्दै बास्कोटाले राष्ट्रिय बजेट प्रणालीभित्र सहयोगका विषयहरू समावेश गर्नुपर्ने बताएका हुन् । “नेपालमा हाम्रो बजेटरी प्रणाली छ । अन्तर्राष्ट्रिय सहयोगहरू प्रणाली भित्र पर्नु पर्छ भन्ने कुरालाई स्पष्ट पार्नु पर्छ,” उनले भने ।

बास्कोटाले सोझै आईएनजीओमार्फत भइरहेको खर्चमा समेत सरकारले ध्यान दिनुपर्ने बताए । “सोझै अन्तर्राष्ट्रिय आईएनजीओमार्फत फेरि लोकललाई दिने । अनि गाडी किन्ने । घोडा किन्ने । रिपोर्ट बनाउने । फेरि रिपोर्ट बनाउने । १० प्रतिशत यहाँका वास्तविक जनताले पाउने र ९० प्रतिशत फर्किने चिजलाई सहयोगको रूपमा लिने कि हाम्रो कमजोरीको रूपमा स्विकार्ने यो सोच्नु पर्ने हुन्छ,” बास्कोटाले भने ।

बास्कोटाले नेपालले अहिलेसम्म आएका अन्तर्राष्ट्रिय सहयोगको सम्बन्धी विषयमा प्रतिवेदन तयार पर्नुपर्ने समेत बताए । “प्रतिवेदनमा केमा पैसा आयो । के मा खर्च भयो । र, के नजिता आयो भन्ने कुरामा संसद्‌को नोटिसमा रहनुपर्छ,” बास्कोटाले भने, “र, आउँदो सहयोगमा सरकारले यति पैसा आउँदै छ । यो-यो काममा खर्च हुँदैछ भन्ने कुरालाई सदनमा जानकारी गराएर खर्च गर्नुपर्छ ।”

उनले थपे, “कुनै हिनताबोध बिना विदेशी सम्बन्ध बिगार्ने, राष्ट्रिय सुरक्षा कमजोर पार्ने, आन्तरिक सामाजिक सद्भाव भड्काउने पर्यावरण विनाश गर्ने खालका कुनै पनि सहयोग पनि दृढतापूर्वक अस्वीकार गर्ने सामर्थ्य राख्नुपर्छ, सभामुख महोदय ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved