काठमाडौं । फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ ।
वीर अस्पतालमा उपचारका क्रममा आइतबार ५४ वर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
श्रेष्ठकै प्रशिक्षणमा ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकप जितेको थियो ।
प्रतियोगिताकै चलिरहँदा नै स्वास्थ्यमा समस्या आउँदा श्रेष्ठलाई धरानस्थित बीपी कोइराला अस्पतालमा भर्ना गरिएको थियो ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित गङ्गालाल अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको थियो ।
शनिबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
उनले मनाङ मर्स्याङ्दी, थ्री स्टार, आरसीटी, एनआरटीजस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका थिए । यस्तै, उनले राष्ट्रिय टोलीमा समेत स्थान बनाएका थिए । श्रेष्ठले उमेर समूहका राष्ट्रिय टिम र ‘ए’ डिभिजन क्लबहरू पनि सम्हालेका थिए ।
उनको अन्तिम संस्कार आज गरिने एन्फाले जनाएको छ ।
Facebook Comment
Comment