लेबनानलाई हराउँदै फाइनलको सम्भावना बलियो पार्ने योजनामा नेपाल

नेपालभ्युज

लेबनानलाई हराउँदै फाइनलको सम्भावना बलियो पार्ने योजनामा नेपाल

काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे हुने खेलमा नेपाल र लेबनान आमनेसामने हुनेछन् ।

फिफा वरीयतामा लेबनान १३४औं स्थानमा छ । नेपाल भने १०३औं स्थानमा छ । वरियताका आधारमा नेपाल बलियो देखिए पनि कीर्गिस्तानसँगको खेलले नेपालले थप मेहनत गर्नुपर्ने देखिएको छ ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा म्यानमारसँग लेबनान ३–१ को गोलअन्तरले पराजित भएको थियो । अर्को खेलमा नेपालले कीर्गिस्तानलाई १–० ले हराएको थियो ।

कीर्गिस्तानविरुद्ध गोल गर्ने मौका अत्याधिक सृजना गरे पनि नेपालले दोस्रो गोल गर्न सकेन । निरन्तर आक्रमण गरेपनि नेपालको फिनिसिङमा समस्या देखिएको थियो ।

लेयर अफ द म्याच प्रीती राईले पनि प्रशिक्षक राजेन्द्र तामाङको रणनीतिमा टोली खरो उत्रन नसेको बताएकी थिइन् । यो सबै कमजोरीलाई नेपालले सच्चाउने अपेक्षा गरिएको छ ।

लेबनान नेपालको लागि नयाँ प्रतिद्धन्दी भने होइन । यसअघि वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । नेपालले सो जितको नतिजा पुनः प्राप्त गर्न चाहन्छ । लेबनानका लागि भने यो खेल आफ्नो क्षमता दर्शाउने मौका पनि हो ।

यदि यो खेलमा पनि नेपालले जित हासिल गर्न सके नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।

नेपालले आजको खेलमा जित हासिल गरे अर्को खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न नेपाललाई केही सहज हुनेछ । आफ्नो पहिलो जितको खोजीमा भएको लेबनानको लागि भने फाइनल सम्भावना कायमै राख्न यो खेल जित्नै पर्नेछ ।

प्रतियोगिताको २ खेल सकिँदा नेपाल र म्यानमारले ३–३ अङ्क प्राप्त गरिसकेका छन् । म्यानमार अङ्कतालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

कीर्गिस्तान र लेबनान भने अङ्क जोड्न सकेका छेनन् । यस खेलमा बराबरी वा पराजित भएमा नेपालको फाइनल यात्रा कठिन बन्ने छ ।

सिङ्गल लिग चरणमा जारी प्रतियोगिताको लिग चरणपश्चात शीर्ष स्थानमा रहने २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved