काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमाा नवनिर्मित ‘द ब्ल्यू प्याभिलियन’ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यक रुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।
“तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरुले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शीरमा राखेर काम गर्नुस् ।”, उनले भने, “कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि अनुसन्धान गर्दा उल्टै उनीहरुका ठूला कुरा र हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्ति पनि प्रभावित हुनुहुन्न । निर्धक्क भएर काम गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।”
प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरु लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरु आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँठगाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे । उनले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिए ।
Facebook Comment
Comment