काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
थाइल्याण्डको लागि नन्नापत कोन्चारोएनकाईले अर्धशतकीय पारी खेलिन् । ५० बलमा ५ चौका प्रहार गर्दै कोन्चारोएनकाई ५६ रनमा अविजित रहिन् ।
अफिसारा सुवान्चोनराथीले २८ रन बनाइन् । नाथाकान चान्थाम भने २३ रनमा अविजित रहिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ र क्यारोलिन डे लैङ्गले १-१ विकेट लिइन् ।
यसअघि नेदरल्याण्ड्सले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले अर्धशतकीय पारी खेलिन् । उनले ५० बलमा ८ चौका प्रहार गर्दै ५२ रनको योगदान गरिन् ।
आइरिस ज्विलिङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
थाइल्याण्डका लागि थिपाचा पुथावोंगले २ तथा ओनिचा कामचोम्फुले १ विकेट लिइन् ।
अब शनिबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
Facebook Comment
Comment