काठमाडौं । भारतको प्रयागराजको सङ्गममा बुधबार बिहान करिब १ः३० बजे कुम्भ मेलामा मौनी अमावस्याको अमृतस्नानका क्रममा भीडभाड हुँदा भागदौड मच्चिएको हो ।
धेरैको मृत्यु भएको र दर्जनौं घाइते भएको आशङ्का गरिएको छ ।
भागदौडका धेरै भिडिओ फुटेजमा प्रहरी घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको स्पष्ट देखिन्छ । भागदौडबाट प्रभावित भक्तजनले कुम्भ मेलाको व्यवस्थामाथि प्रश्न उठाइरहेका छन् ।
समाचार एजेन्सी एएफपीले चिकित्सकहरूलाई उद्धृत गर्दै कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ । तर, यस विषयमा सरकार र प्रशासन लामो समयसम्म मौन बसेको थियो ।
अब उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले ट्विटरमा मानिसहरूलाई अफवाहमा ध्यान नदिन आग्रह गरेको छ ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भक्तजनका लागि उचित व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
कसरी भयो भागदौड घटना ?
मौनी अमावस्याको पावन अवसरमा नुहाउनको लागि कुम्भमेलाको किनारमा लाखौँ मानिसको उपस्थिति रहेको थियो । सङ्गम किनारामा सबैभन्दा ठूलो भीड थियो ।
भीड सडकबाट गुज्रिरहेको बेला एक्कासी ब्यारिकेड फुटेपछि भागदौड मच्चिएको र मानिसहरु एक अर्कामाथि हामफालेको बताइएको छ ।
यसबाट कति जना घाइते भए आधिकारिक विवरण आएको छैन । कतिपय गम्भीर घाइतेसमेत भएका छन् ।
प्रशासनले तत्कालै घटनास्थलमा एम्बुलेन्स पठाएको र घाइतेलाई मेला परिसरमा निर्माण गरिएको अस्पताल लगिएको छ । यसका लागि विशेष हरियो करिडोर बनाइएको थियो, जसबाट एम्बुलेन्सहरू अस्पतालसम्म पुगेका थिए । यहाँ घाइतेको उपचार सम्भव भयो ।
दिल्लीबाट आएका उमेश अग्रवाल नामका एक भक्तले बीबीसीसँग कुरा गर्दै यो घटना कसरी भयो भन्ने बताए । उनले आफू घाटतर्फ जाँदै गरेको र ठूलो सङ्ख्यामा मानिसहरु दौडिरहेको बताए ।
उनले भने, “म नुहाउन जाँदा ब्यारिकेडिङको छेउमा मानिसहरु सुतिरहेका थिए, जसका कारण केही मानिसहरु सुतिरहेकाहरुको खुट्टामा फसे । पछाडिबाट आएका मानिसहरुले थिच्दै गए ।”
कर्नाटकको बेलगामबाट आएकी विद्या साहू नामकी एक भक्तले समाचार एजेन्सी आईएएनएसलाई बताइन् कि उनी नुहाउन जाँदै गर्दा कतैबाट भीड आयो र उनलाई धकेल्न थाल्यो ।
उनले आफू कर्नाटकबाट ६० जनाको समूह लिएर आएको र उनका पाँच साथी अझै बेपत्ता रहेको बताइन् । प्रशासनले एम्बुलेन्सको सहयोगमा अस्पताल पुर्याएको उनले बताइन् ।
अर्को प्रत्यक्षदर्शी जय प्रकाश स्वामीले समाचार एजेन्सी आईएएनएसलाई भने – “म आफ्ना आमाबुवा र छोराछोरीसँगै भागदौडमा जोगियौँ ।” एक्कासी भीड बढेपछि मानिसहरु उनीमाथि हिँड्न थालेको उनले बताए ।
‘घटनास्थलमा शवहरू परेका थिए’
चित्रकूटबाट आएका इन्द्रपाल नामका एक व्यक्तिले आईएएनएसलाई भने कि उनलाई सङ्गमको किनारमा रोकिएको थियो, त्यसपछि भागदौड मच्चियो र उनकी भाउजु बेपत्ता भइन् ।
भाउजुको खोजीका लागि घटनास्थलमा गएको अवस्थामा शवको लाइनमा देखेको उनले बताए ।
भागदौडको प्रत्यक्षदर्शी एक महिला भक्तले समाचार एजेन्सी पीटीआईलाई बताइन् , “अचानक भागदौड भयो । यातायातको कुनै साधन थिएन । हामीले मद्दत मागेका मानिसहरू हाँसे । हामी हाम्रो बच्चाको लागि भिख माग्थ्यौं । धेरै बच्चा गम्भीर छन् ।”
मध्य प्रदेशको छतरपुरका एक भक्तले भने, “भागदौडमा मेरी आमा घाइते भएकी छन् । त्यहाँ प्रहरी पनि थिएन । सहयोग गर्न कोही आएनन् । कम्तीमा ४० जना घाइते भएका छन् । मेरी आमालाई पनि थाहा छैन उनी बाँच्नेछिन् कि छैनन् ।”
मौनी अमावस्याको स्नान किन विशेष ?
मुख्यमन्त्री योगी आदित्यनाथले एक पोस्टमा भनेका छन्, “भक्तहरूलाई आफ्नो नजिक रहेको माता गङ्गाको घाटमा मात्र स्नान गर्न अपील गर्छौँ, सङ्गम नाकतर्फ जाने प्रयास नगर्नुहोस् । प्रशासनको निर्देशन पालना गर्नुहोस् र व्यवस्था गर्न सहयोग गर्नुहोस् । कुनै पनि अफवाहमा ध्यान नदिनुहोस् ।”
यसैबीच समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले फेसबूकमा पोस्ट गर्दै गम्भीर घाइतेहरुको यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न राज्य सरकारलाई आग्रह गरेका छन् । उनले यस कठिन समयमा संयम र धैर्यता अपनाउन र शान्तिपूर्ण रुपमा तीर्थयात्रा सम्पन्न गर्न भक्तजनहरुलाई अपील गरेका छन् ।
कुम्भमा मौनी अमावस्यामा अमृत स्नानको विशेष धार्मिक महत्व रहेको छ । यस स्नानको लागि लाखौं मानिसहरू भेला भएका थिए ।
यसपटक अमृतस्नानका लागि त्रिवेणी योग बनिरहेको थियो, त्यसैले भीड बढी थियो । हिन्दू मान्यताअनुसार १४४ वर्षपछि त्रिवेणी योगको अवस्था सिर्जना भएको हो ।
अमृत स्नान (जसलाई शाही स्नान भनिन्छ) कुम्भ मेलाको सबैभन्दा भव्य र पवित्र अनुष्ठान मानिन्छ । यी स्नानका केही विशेष दिनहरू हुन्, जसको लागि देश र विश्वका मानिसहरू कुम्भ मेलामा पुग्छन् ।
जबकि मौनी अमावस्या सबै अमृत स्नान मध्ये सबैभन्दा शुभ तिथी मानिन्छ । यस दिन पवित्र नदीहरू अमृत बन्ने जनविश्वास छ ।
कुम्भ मेलाको इतिवृतान्त : के हो महाकुम्भ ?
Facebook Comment
Comment