काठमाडौं । चियावालाको अफवाहका कारण लखनऊबाट मुम्बईतर्फ जाँदै गरेको १२५३३ नम्बरको पुष्पक एक्सप्रेस दुर्घटना भएको खुलेको छ ।
भारतीय सञ्चारमाध्यमले बुधबार महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटना भएको हो । घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुने नेपालीमा ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नन्दराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी छन् ।
यसरी घट्यो घटना
पुष्पक एक्सप्रेसको सो रेल लखनऊबाट मुम्बईतर्फ जाँदै थियो । जलगाउँमा बुधबार अपराह्न ४:४२ बजेतिर रेलभित्र एक अफवाह फैलियो ।
पचोरा नजिकको बोगीमा चियावालाले ‘रेलको डिब्बामा आगलागी भयो’ भन्दै चिच्याए । त्यसपछि रेलभित्र रहेका यात्रुहरुमा डर पैदा भयो । उनीहरु कराउन, चिच्याउन थाले ।
भारतीय सञ्चारमाध्यमकाअनुसार आगोको डरले दुई यात्रु उदलकुमार र विजयकुमार चलिरहेको रेलबाट हाम फाले ।
लगत्तै एक यात्रुले चेन तानेर रेल रोके । रेल रोकिनेबित्तिकै अन्य यात्रुहरू रेलबाट हतार ओर्लिएर भाग्न थाले ।
यसैबीच अर्को लिक तीव्र गतिमा आउँदै गरेको कर्णाटक एक्सप्रेसको रेल भीडमाथि चल्यो ।
प्रत्यक्षदर्शी मुम्बईका ट्याक्सी चालक साबिर र लखनऊका राजीव शर्माले भनेका छन्,”हामी पुष्पकको स्लिपर कोचमा थियौँ । रेल रोकिएपछि म बाहिर निस्किएँ । केही मानिसहरू दौडिरहेका थिए र चिच्याइरहेका थिए – आगो लाग्यो, बाहिर निस्किनुहोस् । हाम्रो डिब्बामा पनि आतङ्क थियो । सबै महिला र केटाकेटी तल ओर्ले र भाग्न थाले । मेरो साथी पनि लडेर घाइते भयो । यसैबीच अगाडिबाट एउटा रेल आयो र मानिसहरूलाई कुल्चँदै गयो ।”
एक वरिष्ठ रेलवे अधिकारीले दिएको प्रारम्भिक जानकारीअनुसार पुष्पक एक्सप्रेसको कोचभित्र ‘तातो एक्सल’ वा ‘ब्रेक–बाइन्डिङको कारणले गर्दा झिल्काहरू निस्किएका थिए । तर, आगो भने लागेको थिएन ।
यसरी चियावालाको अफवाहका कारण दुर्भाग्यपूर्ण घटना भयो । घटनामा घाइते १० जनामध्ये ८ जना पुरुष र २ जना महिला छन् ।
यस विषयमा पचोरा प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अब उपमुख्यमन्त्री अजित पवारले यो घटनालाई लिएर प्रतिक्रिया दिएका छन् । कसरी भयो दुर्घटना ? अफवाह कसले फैलायो ? भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।
घाइतेहरूको सरकारी खर्चमा उपचार भइरहेको अजित पवारले बताए ।
-एजेन्सीको सहयोगमा
Facebook Comment
Comment