पाँच महिनामा हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु

नेपालभ्युज

पाँच महिनामा हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु
फाइल तस्वीर ।

काठमाडौं । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ ।

आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब ५० करोड रुपैयाँ बराबरकाे क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।

सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौं उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् ।

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुईजना घाइते भएकाे प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved