काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरको जङ्गलमा लागेको डढेलोले ठूलो क्षति पुर्याएको छ ।
तीन दिनअघि जङ्गलमा लागेको आगो लगातार सहरतर्फ बढिरहेको छ । हालसम्म हजारौँ आवासीय तथा व्यावसायिक भवन जलेर खरानी भइसकेका छन् ।
लस एन्जलस काउन्टी शेरिफ रोबर्ट लुनाले ठूलो आगोले गर्दा भएको विनाशलाई आणविक बम आक्रमणबाट भएको क्षतिसँग तुलना गरिन् ।
लुनाले बिहीबार भनिन्, ‘यस्ता क्षेत्रमा परमाणु बम खसालेको जस्तो देखिन्छ । यो सहर अमेरिकी फिल्म उद्योग हलिउडका लागि प्रसिद्ध छ ।’
अहिलेसम्म पेरिस हिल्टन, युजीन लेवीलगायत धेरै सेलिब्रेटीको घरमा आगलागी भएको खबर आएको छ ।
यस्तो अवस्थामा यो भयानक जङ्गलको आगोमा हलिउडको प्रसिद्ध किल्ला जलेर खरानी हुने हो कि भन्ने डर छ । जङ्गलमा लागेको भीषण आगलागीले हलिउडको मनोरञ्जन उद्योग ठप्प भएको छ ।
आगो धेरै हलिउड स्टारहरूको घरतिर द्रुत गतिमा बढिरहेको छ । जसका कारण चर्चित स्टारहरुको घर खाली गरिँदैछ ।
तीमध्ये सर एन्थोनी हप्किन्स, टम ह्यान्क्स, माइली साइरस, बेन एफ्लेक, स्टीभन स्पिलबर्ग, एडम स्यान्डलर, जेमी ली कर्टिस, म्यान्डी मूर र मार्क ह्यामिलले पनि आफ्नो घर छोड्नुपरेको छ ।
यति मात्र होइन, जस्ट फ्रेन्ड्स स्टार एना फारिस र स्पेन्सर प्राट र हेडी मोन्टागको घर पनि जलेको छ ।
लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण चर्चित रियालिटी टिभी जोडी स्पेन्सर प्राट र हेइडी मोन्टागको घर पनि आगोले जलेको छ ।
आगलागीले ३ पटकको एमी अवार्ड विजेता जेम्स वुड्सको घर पनि जलेर खरानी भएको छ ।
आगलागीबाट हलिउड अभिनेता बिली क्रिस्टल र उनकी श्रीमती जेनिस गोल्डफिंगरको घर पनि जलेर खरानी भएको छ ।
आफ्नो ४५ वर्ष पुरानो घर गुमाउँदा अभिनेता दुःखी छन् । उनले विज्ञप्ति जारी गर्दै यसबारे विस्तृत जानकारी दिएका छन् ।
उनले भनेका छन् – जेनिस र म सन् १९७९ देखि यो घरमा बस्दै आएका थियौं । हामीले हाम्रा छोराछोरी र नातिनातिनालाई यहाँ हुर्कायौं । हाम्रो घरको प्रत्येक इन्च प्रेमले भरिएको थियो । हामीसँग यस घरसँग सम्बन्धित केही सुन्दर सम्झनाहरू पनि छन्, जुन कहिल्यै भुल्न सकिँदैन । अवश्य पनि हामी दुःखी छौं, तर हाम्रा बच्चाहरू र साथीहरूको मायाले हामी छिट्टै यस समस्याबाट बाहिर आउनेछौं ।
व्यवसायी तथा मोडल, गायिका पेरिस हिल्टनको घर जलेर खरानी भएको छ । जसको भिडिओ तथा तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको घरको लागत करिब ५३ करोड भारु बराबरको थियो ।
द लिस्टको रिपोर्टअनुसार अभिनेता युजीन लेवीको साढे २१ करोड भारु बराबरको घर आगोले जलेर नष्ट भएको छ ।
एडम ब्रोडी र लेइटन मिस्टरको घर पनि जलेको छ । भेराइटीको रिपोर्टअनुसार उनीहरुको घर ५५ करोड भारु बराबरको थियो ।
आगलागीबाट आफ्नो घर गुमाउनेको सूचीमा अन्ना फेरिस पनि छिन् । उनको ४२ करोड भारु बराबरको घर जलेर नष्ट भएको टीएमजेडले जनाएको छ ।
यस्तै, कलाकार हेइटी मोन्टाग र स्पेन्सर प्राटको घर पनि जलेको छ । उनीहरुको घरको लागत करिब २६ करोड भारु रहेको डेलीमेलले जनाएको छ ।
निक्सन, क्यासिनोजस्ता फिल्ममा अभिनय गरेका अभिनेता जेम्स वुड्सको घर पनि जलेर खरानी भएको छ । करिब २३ करोड भारु बराबरको घर जलेको भेराइटीले जनाएको छ ।
गायिका एन्डी मूरले पनि आफ्नो घर गुमाएकी छन् । ५२ करोड भारु बराबरको घर गुमाएकी हुन् ।
सम्बन्धित सामग्री-
हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण
लस एन्जलसमा डढेलो सहर पसेपछि… (तस्वीरहरू)
Facebook Comment
Comment