आफू एमालेमा नरहेको पूर्वआईजीपी खनालको घोषणा

नेपालभ्युज

आफू एमालेमा नरहेको पूर्वआईजीपी खनालको घोषणा
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वआईजीपी सर्वेन्द्र खनाल ।

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले)मा नरहेको घोषणा गरेका छन् ।

उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आफू अहिले कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको खनालको भनाइ छ ।

‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेँ । यसैले म यसै माध्यमबाटस्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,’ उनले फेसबूकमा लेखेका छन्, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्य गरिरहने छु ।’

२०७६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि पूर्वआईजीपी खनाल एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे ।

त्यसको दुई महिनापछि नै खनालले काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए ।

तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालसँग पराजित भए ।

पछि खनालले तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवारी दिए । यद्यपि, तनहुँ–१ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेले बाजे मारे । खनालले तेस्रो मत मात्र प्राप्त गरे । त्यसयता उनी एमालेमा त्यति सक्रिय देखिएका थिएनन् ।

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेतृत्व गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved