काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अष्ट्रेलियासामु पहिलो इनिङ्समा १८५ रन बनाएको छ ।
भारतले ७२.२ ओभरमा अलआउट हुँदै १८५ रन बनायो ।
त्यसपछि ब्याटिङ गर्न आएका अष्ट्रेलियाका ओपनर साम कोन्स्टास र भारतका कप्तान जसप्रित बुमराहबीच केही भनाभन भएको छ ।
कोन्स्टासले पहिलो बलमै चौका प्रहार गर्दै बुमराहविरुद्ध गतिलो सुरुवात गरेका थिए । यसअघि चौथो टेस्टमा उनले अर्धशतक प्रहार गरेका थिए ।
सोहीकारण सिड्नी टेस्टमा पनि फ्यानले यी दुईबीच भिडन्त हुने अपेक्षा गरेका थिए ।
कोस्टासले इनिङ्सको पहिलो बलमा बुमराहलाई चौका प्रहार गरे । तर, त्यसपछि बुमराहले उनलाई लामो शट खेल्ने मौका दिएनन् ।
अस्ट्रेलियाको इनिङ्सको तेस्रो ओभरमा बुमराह र कोन्स्टासबीच भनाभन भएको छ ।
यसपटक झगडा मौखिक भएको छ ।
ओभरको चौथो बलमा उस्मान ख्वाजा स्ट्राइकमा थिए ।
उनले बल सामना गर्न तयारी गर्न समय लिइरहेका थिए । बुमराहलाई त्यो मन परेन ।
उनले केही भनेपछि कोन्स्टासले नन स्ट्राइकर एन्डबाट जवाफ दिन थाले ।
यसपछि वातावरण तात्यो र दुबै खेलाडी एकअर्कातर्फ अघि बढे । जसमा बुमराह निकै आक्रामक देखिएका थिए । अम्पायरले हस्तक्षेप गरेपछि खेल सुरु भएको थियो ।
बुमराहको उक्त हाउभाउ देखेर सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । कप्तानको जिम्मेवारी सम्हालेको खेलाडीले यस्तो व्यवहार देखाउनु गलत भएको बताइरहेका छन् ।
खेलका क्रममा यस्तो रवैया देखाउनु भारतीय खेलाडीका लागि नौलो कुरा भने होइन ।
यसअघि मेलबर्न टेस्टमा विराट कोहलीले जानाजान कोन्स्टासलाई धकेलेका थिए ।
जसकारण आईसीसी म्याच रेफ्रीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गरेका थिए भने एक डी-मेरिट अङ्क पनि दिइएको थियो ।
कोहलीले स्वीकारे गल्ती, आईसीसीले गर्यो कारबाही
Facebook Comment
Comment