ललितपुर । नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।
असोज १२ गते शनिबार नख्खुखोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।
बाढीका कारण नख्खुखोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे ।
उनले भने, “दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।”
बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत समस्या हल गरिसकेको र अन्य समस्याको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ ।
“नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिपर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो ।” उनले भने ।
नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ ।
हरेक दिन नख्खुखोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताए । उनी भन्छन्, “जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरु भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।” रासस
Facebook Comment
Comment