वासिङ्टन । डोनाल्ड ट्रम्पले जो बाइडनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडनको स्थान लिने तयारीमा रहँदा मङ्गलबार आक्रोशित भएका हुन् ।
राष्ट्रपति बाइडनले आफ्नो कार्यकालको अन्तिम महिना सोमबार सङ्घीय मृत्युदण्डको प्रतीक्षामा रहेका ४० कैदीमध्ये ३७ जनाको मृत्युदण्डको सजायलाई प्यारोल बिनाको आजीवन कारावासमा परिवर्तन गर्ने घोषणा गरेका थिए ।
तीमध्ये साथी कैदीहरूको हत्या गरेको अभियोगमा नौ, बैंक डकैतीका क्रममा भएको हत्याको अभियोगमा चार र जेल गार्डको हत्या गर्ने एकजना थिए ।
‘जो बाइडनले भर्खरै हाम्रो देशका ३७ जना सबैभन्दा क्रुर हत्याराको मृत्युदण्ड माफी गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गरे, ‘यो सरासर गलत हो ।’
बाइडनले सङ्घीय मृत्युदण्डमा रोक लगाएका थिए । तर उनी जनवरी २० मा ह्वाइट हाउस छाड्नुअघि थप कार्य गर्न दबाबमा थिए । किनभने रिपब्लिकन ट्रम्पले अभ्यास पुनः सुरु गर्ने सङ्केत दिएका थिए ।
सन् २०१३ को बोस्टन म्याराथन बम विस्फोटका एक आरोपी, सन् २०१८ मा ११ जना यहुदी उपासकहरूको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्चका भक्तजनहरूको गोली हानी हत्या गर्ने एक श्वेत सर्वोच्चतावादी गरी तीन जनालाई यो निर्णयबाट बाहिर राखिएको थियो ।
‘कुनै भ्रम नराख्नुहोस्, यी हत्याराहरूको निन्दा गर्दछु, उनीहरूको घृणित कार्यको पीडितहरूका लागि शोक गर्दछु, र अकल्पनीय र अपूरणीय क्षति भोगेका सबै परिवारहरूका लागि पीडा महसुस गर्दछु,’ बाइडनले सोमबार भने, ‘तर मेरो विवेक र अनुभवले मार्गदर्शन गरेअनुसार म पहिलेभन्दा बढी विश्वस्त छु कि हामीले सङ्घीय स्तरमा मृत्युदण्डको प्रयोग रोक्नुपर्छ । सद्विवेकले म पछाडि खडा हुन सक्दिनँ र नयाँ प्रशासनलाई मैले रोकेको मृत्युदण्ड पुनः सुरु गर्न दिन्नँ ।’
Facebook Comment
Comment