भूकम्प पीडितलाई नबिल बैङ्कले दियो अस्थायी आवास

नेपालभ्युज

भूकम्प पीडितलाई नबिल बैङ्कले दियो अस्थायी आवास

काठमाडौं । नबिल बैङ्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमबीच नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् ।

बैङ्कले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैङ्कका अध्यक्ष पौडेलले बैङ्क समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताए ।
प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले यो परियोजना अघि बढाएको उनले बताए ।

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैङ्कले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका– १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैङ्कले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्ला काँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैङ्कलाई धन्यवाद दिए ।

कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, बैङ्कका सञ्चालक निर्वाण चौधरी लगायत उपस्थिति थिए ।

१७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति पुर्‍याएको थियो ।

नबिल बैङ्कले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण गर्नुका साथै अस्थायी आवास निर्माण गरिदिने घोषणा बैङ्कले गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved