काठमाडौं । कैलालीको धनगढीमा आगलागी भएको छ । त्यहाँको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ
आगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो । त्यसपछि अन्य तीनवटा पसलमा फैलिएको हो ।
आगलागीबाट समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख रुपैयाँ बराबर क्षति भएको बताइएको छ ।
यस्तै सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।
यसैगरी दीपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४/५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको थियो ।
Facebook Comment
Comment