ललितपुर नगर प्रहरीलाई प्रधानमन्त्रीले भने– तपाईँहरूले गरिबको ठेला फ्याँक्नु भएको छैन, धन्यवाद !

नेपालभ्युज

ललितपुर नगर प्रहरीलाई प्रधानमन्त्रीले भने– तपाईँहरूले गरिबको ठेला फ्याँक्नु भएको छैन, धन्यवाद !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेर काठमाडौँ महानगरलाई कटाक्ष गरेका छन् ।

महानगर प्रहरीहरूलाई सम्बोधन गर्दै ओलीले ‘तपाईँहरूले गरिबको ठेला फ्याँक्नु भएको छैन। धन्यवाद’ भनेका हुन् ।

काठमाडौँ महानगरमा भने प्रमुख बालेन साहको निर्देशनमा नगर प्रहरीले सडक किनाराका व्यापारी हटाउँदै आएका छन् ।

ललितपुरमा भने त्यस्तो देखिएको छैन । सोही विषय संकेत गर्दै ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर नगर प्रहरीले जनताको ठेला नफ्याँकेको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘ललितपुर नगर प्रहरी सम्मानित हुनुभएको छ, म धन्यवाद भन्न चाहन्छु । किनकि ललितपुर नगर प्रहरीले गुर्र जिपमा कुँदेर, अर्कै लोकको केही आए झैँ गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिट्ठी बजाउँदै आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै यस्तो गरेको मैले देखेको छैन ।’

ओलीले नगर प्रहरी आतंकको पर्याय नभएको पनि बताए ।

उनले थपे, ‘तपाईँहरूले जनताका लागि त्रास फिँजाउने होइन । तपाईँहरूलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईँहरू जाँदा जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्छ । ताकि लौ आयो, कता भागौँ, के गरौँ भन्ने हुनुहुँदैन । कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved