‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा

नेपालभ्युज

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।

शनिबार काठमाडौँस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।

अध्यक्ष अधिकारीले भने, “यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतिलाई अनिवार्य गरेका छौँ । यसपटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुनेछ ।” उनले विश्वभर रहेका नेपालीलाई नेपालीत्व झल्किने प्रस्तुतिलाई समेट्नेबाहेक अन्य कडाइ गर्ने नियम नभएको जानकारी दिँदै नेपालसहित विदेशमा रहेका नेपालीका सहरमा अडिसन हुने जानकारी दिए ।

“हामीले नेपाली भाषा र कलाप्रति प्रवासमा रहेका नयाँ पुस्तालाई आकर्षित गर्न र आफ्नो देश फर्काउन यो कार्यक्रम गरिरहेका छौँ । किनकि हामीले सहयोग विपन्न प्रतियोगीलाई सहयोग गरेर नै प्रतियोगितामा सहभागी गराउने गरेका छौँ”, अध्यक्ष अधिकारीले भने ।

दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रूपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरूङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के छन् ।

यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ छन् ।

पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिभर्स’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’ लाई मोसमी गुरूङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो माघदेखि सुरू हुनेछ । अमेरिका र क्यानडाका लागि माघ १२ र १३ अमेरिकास्थित कोलम्बस ओहायो, फागुन ३ र ४ मा बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । यस्तै, फागुन १० र ११ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैङ्कक, अस्ट्रेलियाको सिड्नी र नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।

यस्तै, फागुन १७ र १८ मा भारतको मुम्बई नेपालगञ्ज, फागुन २४ र २५ मा भारतको सिलिगुरी, चैत २ र ३ मा झापाको दमक र चैत १६ र १७ मा काठमाडौँमा अडिसन हुँदैछ । निर्णायकमध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिएको बताईन् । उनले भनिन्, “यो प्रतियोगिताको उद्देश्य मनोरञ्जनमै मात्र सीमित छैन । यसले कला र संस्कृतिको प्रवर्द्धनसँगै विश्वभर छरिएका प्रतिभाको सपना साकार बनाउने काम गर्दैछ । म यो परिवारमा निर्णायक भएर जोडिन पाउँदा निकै उत्साहित छु ।”

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी, पल्पसा डङ्गोल, निर्देशक पुर्नेन्दु झालगायते उपस्थित थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved