१४ दिन हिरासतमा पठाउने आदेश भइसकेका अल्लु अर्जुन कसरी छुटे केही घन्टामै ?

नेपालभ्युज

 १४ दिन हिरासतमा पठाउने आदेश भइसकेका अल्लु अर्जुन कसरी छुटे केही घन्टामै ?

हैदरावाद । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई हैदराबादको सन्ध्या थियटरमा “पुष्पा २: द रूल” चलचित्रको प्रिमियर शोको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएपछि शुक्रबार पक्राउ गरिएको थियो । तर तेलांगना उच्च अदालतले त्यही दिन उनलाई जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

हैदरावाद अदालतले अल्लूलाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिए पनि उनका वकिलले उच्च अदालतमा अपिल गरे ।  उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै घटनामा अल्लूलाई मात्र दोषी मान्न नमिल्ने र उनी पनि अन्य नागरिकसरह स्वतन्त्रताको हकदार भएको ठहर गर्दै जमानतमा रिहा गर्यो ।

अल्लूलाई हैदरावादको जुबली हिलस्थित घरबाट पक्राउ गरिएको थियो  । पक्राउको समयमा उनी चिया नास्ता गर्दै थिए ।

अल्लूले प्रहरीमाथि कपडा फेर्न नदिएको र सामान्य व्यवहार नगरेको आरोप लगाएका छन् । भारतीय सञ्चारमाध्यमहरूले समेत पक्राउको केही दृश्यहरू सार्वजनिक गरेका छन्, जसले प्रहरीको क्रियाकलापलाई लिएर व्यापक चर्चा भएको छ ।

अल्लूको गिरफ्तारीको भारतीय कलाकारदेखि नेताहरूसम्मले विरोध जनाएका थिए । चलचित्र उद्योगका थुप्रै व्यक्तित्वले यो घटनामा अल्लूलाई मात्र दोषी देखाउन खोजिएकोमा असन्तुष्टि जनाएका छन् ।

भागदौडको दुःखद परिणाम

सन्ध्या थियटरमा प्रिमियर शोका क्रममा भीडको व्यवस्थापन बिग्रँदा भागदौड मच्चिएको थियो । यस क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएपछि यो विवाद चर्किएको हो ।

तेलांगना उच्च अदालतको निर्णयपछि अल्लूका प्रशंसकहरू खुसी भएका छन् । तर यो घटनाले चलचित्र प्रिमियरका क्रममा हुने भीड व्यवस्थापनप्रति प्रश्नचिन्ह खडा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved