सकियो मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ‘रेमिन्यान्ट्स’ पुरस्कृत

नेपालभ्युज

सकियो मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ‘रेमिन्यान्ट्स’ पुरस्कृत

काठमाडौं । ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न भएको छ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित यही मङ्सिर २४ गतेदेखि चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सुरु भएको महोत्सवमा विभिन्न वृतचित्र, चलचित्र प्रदर्शनसँगै अन्तरक्रियात्मक कार्यक्रम भएको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

उनले भने, ‘महोत्सवमा चलचित्रकर्मीसँगै आमदर्शकको उत्साहजन सहभागिता रह्यो । यसपटक हामीले मानव अधिकारका विषयमा निर्माण भएका र अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएका प्रसिद्ध चलचित्र, वृतचित्र लगायत प्रदर्शन गर्यौं । यस महोत्सवले विश्वभर मानवअधिकारको विषयलाई कसरी हेरिएको छ भन्ने तथ्यलाई प्रस्ट्याएको छ ।’

महोत्सवमा धनराज बार्कोटेले निर्देशन गरेको ‘रेमिन्यान्ट्स’ चलचित्र ‘नेपाली पानारोमा’अन्तर्गत पुरस्कृत भयो । यस्तै, सर्ट डकुमेन्ट्रीअन्तर्गत ‘ब्ल्याक रेन इन माई आइज’, सर्ट फिक्सनजतर्फ ‘द फर्स्ट फिल्म’, फिचर डकुमेन्ट्रीतर्फ ‘ह्वेयर वी युज्ड टु स्लिप बाई’, फिचर फिक्सनतर्फको पायल कपाडियाले निर्देशन गरेको ‘अल वि इम्याजिन एज लाइट पुरस्कार जित्न सफल भयो । उक्त महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठलाई उकृष्ट महिला चलचित्रकर्मी घोषणा गरियो ।

विजेतालाई प्रतिनिधिसभाका सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित महोत्सव निर्देशक खत्रीले पुरस्कार प्रदान गरेका थिए । नेपालसहित २३ देशका ५३ चलचित्र सहभागी भएको महोत्सवमा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले ‘को–प्रडक्सन, ल्यान्डस्केप ः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा ‘मास्टरक्लास’ दिएका थिए ।

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहेको महोत्सवको आयोजना सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved