सुर्खेत । सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा चार जना घाइते भएका छन् ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ को देसीपाटास्थित विश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडादेखि मजकोट जाने सडक मर्मत गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा चार जना घाइते भएका हुन् ।
शनिबार सडकमा काम गरिरहेको घाइते हुनेमा जुनिचाँदे गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर वड, सोही ठाउँकी २५ वर्षकी निर्मला शाही, २२ वर्षकी फूलमाया लुहार, ३५ वर्षका नरबहादुर वड रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उनीहरूमध्ये रामबहादुर, निर्मला र नरबहादुरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए ।
‘शनिबार बिहान सडकको नाली बनाउनका लागि बालुवा निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेको हो,’ उनले भने ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि कर्णाली प्रदेश सुर्खेतमा ल्याएको सूचना अधिकारी तिमिल्सेनाले बताए ।
Facebook Comment
Comment