काठमाडौं । दाल तथा गेडागुडी आयात गर्दा भन्सार विन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर साढे दुई प्रतिशतमा झरेको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत यसअघिको अग्रिम आयकरलाई समायोजन गर्दै साढे २ प्रतिशतमा झारेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेका थिए ।
दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो । अग्रिम आयकर घटेसँगै अब दाल तथा गेडागुडीको मूल्य पनि सस्तिने भएको छ ।
१० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो ।
गेडागुडीमा गडबडी : अग्रिम आयकरको दलदलमा दाल उद्योग
Facebook Comment
Comment