भर्जिनिया, अमेरिका । नेपाली मूलका युवकले मापसे गरेर गाडी चलाउँदा भर्जिनियाको स्यानटिली सहरमा दुई नेपालीको ज्यान गएको छ । दुर्घटनामा संलग्न ३० वर्षीय विजय तामाङमाथि हत्या अभियोग (Involuntary Manslaughter) दर्ता गरिएको छ ।
दुर्घटना नोभेम्बर २२, शुक्रबार बिहान १२:३० बजे लाउडन काउन्टी पार्कवे र टल सिडार्स पार्कवेको छेउमा भएको हो । तामाङले चलाएको २०२३ मोडेलको फोर्ड मस्टाङ अनियन्त्रित भई सडक मुनि पुगेर रूखमा ठोक्किँदा दुई यात्रुको मृत्यु भएको हो । अन्य दुई जना घाइते भएका छन् ।
लाउडन काउन्टी शेरिफ कार्यालयका अनुसार तामाङले मादक पदार्थ सेवन गरेर गाडी चलाएका थिए । अनुसन्धानकर्ताहरूले दुर्घटनाको प्रमुख कारण रक्सी रहेको बताएका छन् ।
चालकमाथि कानुनी कारबाही हत्या र मापसे गरेर लापरवाहीपूर्वक सवारी चलाएको अभियोगहरूको पनि अनुसन्धान भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको परिचय हालसम्म खुलाइएको छैन। घाइतेहरूको अवस्था र उनीहरूको उपचार सम्बन्धी जानकारी प्राप्त भइसकेको छैन ।
विदेशमा नेपालीहरूको यो प्रकारको लापरवाह र मादक पदार्थ सेवनका घटनाले नेपाली समुदायलाई गहिरो धक्का पुर्याएको छ । अमेरिकी कानुनअनुसार, तामाङलाई कडा सजाय हुन सक्ने बताइएको छ ।
Facebook Comment
Comment