राहदानी वितरणको प्रक्रिया ठप्प, तत्काल चाहिने सेवाग्राही समस्यामा

नेपालभ्युज

राहदानी वितरणको प्रक्रिया ठप्प, तत्काल चाहिने सेवाग्राही समस्यामा

काठमाडौं। राहदानी विभागको विद्युतीय प्रणालीमा समस्या देखिएपछि राहदानी वितरण प्रक्रिया पूर्णतः ठप्प भएको छ ।

बिहीबारदेखि समस्या सुरु भएसँगै काठमाडौंस्थित विभाग, जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राहदानीसम्बन्धी कुनै पनि सेवा उपलब्ध हुन सकेको छैन ।

विभागले एक सूचना जारी गर्दै तथ्याङ्क व्यवस्थापन प्रणालीमा आएको प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको बताएको छ ।

समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको र आइतबारदेखि कम्तीमा विभागको मुख्यालयबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।

तर, प्राविधिक टोलीका अनुसार समस्या जटिल भएकाले पूर्ण समाधानका लागि केही दिन लाग्न सक्ने सम्भावना रहेको छ।

तत्काल राहदानी चाहिने सेवाग्राहीको समस्या

यस समस्याले विशेषगरी तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई ठूलो मर्का परेको छ ।

अध्ययन, रोजगारी, स्वास्थ्य उपचारलगायतका उद्देश्यले यात्रा तय गरेका सेवाग्राहीहरू प्रक्रियामा अवरोध आएपछि अन्योलमा परेका छन् ।

विभागले सेवाग्राहीलाई पर्खाइमा राख्नुपरेकोमा दुःख व्यक्त गर्दै छिटोभन्दा छिटो समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।

यसअघि पनि राहदानी वितरण प्रणालीमा यदाकदा प्राविधिक समस्या देखिएपनि यसपटक समस्या निकै गम्भीर देखिएको छ ।

सेवाग्राहीका गुनासो

“यात्राको लागि टिकट काटिसकेको थिएँ, तर राहदानी नपाउँदा यात्रा रद्द गर्नुपर्ने अवस्था आयो,” एक सेवाग्राहीले भने ।

यस्तै, विदेशमा रहेका नेपाली नियोगहरूमा पनि राहदानीसम्बन्धी काम रोकिएपछि अध्ययन र रोजगारीका लागि कागजात प्रक्रिया अगाडि बढाउन नसकिएको गुनासो आएको छ ।

समस्या समाधानपछि पनि backlog व्यवस्थापनमा केही समय लाग्ने भएकाले सेवाग्राहीहरूलाई धैर्य राख्न विभागले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved