पूजालाई सम्मान र पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ, भन्छिन्– सबैको हौसलाले उर्जा थपेको छ

‘विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एसिया कप उचाल्ने अबको लक्ष्य हो,’ पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छिन्, ‘अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन् राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ । सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।’

नेपालभ्युज

पूजालाई सम्मान र पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ, भन्छिन्– सबैको हौसलाले उर्जा थपेको छ

महोत्तरी । यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको छनोटबाट यू–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।

काठमाडौं हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको हो । शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र र रु ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए ।

यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लागेको थियो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलदेखि जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यू–१९ महिला टी–२० एसिया कप र विश्वकपको शुभकामना दिएका थिए ।

तस्वीर : सामाजिक सञ्जाल ।

गत सोमबार पूजालाई एनपिएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’को रुपमा सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त टोलीले उनलाई रु ५० हजार पुरस्कार प्रदान गरेको थियो । सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरेका छन् । विशेष रुपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो । शोभायात्रामा गौशाला–२ घर भएका सांसद लक्ष्मी महतो कोइरी, गौशाला नगरप्रमुख डा दीपेन्द्र महतोसहित जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारण सहभागी थिए ।

मङ्गलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो । नगरप्रमुख डा महतोले पूजालाई रु एक लाख ५१ हजार प्रदान गरेका थिए । उनलाई मङ्गलबार नै मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए । ‘प्रदेश सरकार खेलाडीहरूका साथमा छ, मधेश सरकार खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहनेछ,’ मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने ।

बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम देखिन्थ्यो । रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकहरूको टोलीले उनको घरमै पुगेर रु ११ हजार पुरस्कार प्रदान गरेको थियो ।

‘विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एसिया कप उचाल्ने अबको लक्ष्य हो,’ पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छिन्, ‘अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन् राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ । सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।’

पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुसी छन् । ‘पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन्,’ उनले भने । रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved