काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
सोमबार सानोगौचरणमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका राजनीतिक दलका नेताहरुले संसदीय प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्तिको रुपमा ढुङ्गानालाई सम्झेका छन् ।
प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा चित्रण गरे ।
उनले भने, ‘उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरूबाट प्रेरित रहनेछौँ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौं ।’
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख ढुंगानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्नेकुरा स्थापित गराएको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गरेको बताए ।
सभामुख देवराज घिमिरेले ढुंगानाले संसद्लाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
Facebook Comment
Comment