इरानका सर्वोच्च नेता खामेनी ‘कोमा’मा छन् ?

नेपालभ्युज

इरानका सर्वोच्च नेता खामेनी ‘कोमा’मा छन् ?

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको विषयमा पछिल्ला दिनहरुमा विभिन्न समाचार आइरहेका छन् ।

उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोसमेत अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साराजेभो टाइम्सले खामेनी कोमामा रहेको समाचार सार्वजनिक गरेको छ ।

समाचारकाअनुसार उनको स्वास्थ्य अत्यन्तै गम्भीर रहेकोले उनको राजगद्दी त्यागेको अनुमान छ ।

मिडिया स्रोतकाअनुसार खामेनीले सेप्टेम्बरको अन्त्यमा गोप्य रूपमा तेहरानमा आफ्नो उत्तराधिकारी छानेका थिए । उनले आफ्नो मृत्यु अघि नै पद त्याग गरिसकेकोसमेत समाचार बाहिर आएका छन् ।

न्यूओर्क टाइम्सलगायतका मिडियाले खामेनी गम्भीर रूपमा बिरामी रहेको र गोप्य रूपमा आफ्ना छोरा मोजताबालाई इरानी शासनको उत्तराधिकारी दिएको समाचार छापेका छन् ।

यसबीच खामेनी कहाँ छन् ? के उनी कोमामा छन् ? कि उनको मृत्यु भइसक्यो ? यी त्यस्ता केही प्रश्नहरू हुन्, जसको जवाफ आधिकारिक रुपमा बाहिरिएको छैन ।

सामाजिक सञ्जालमा धेरै पोस्टमा उनलाई विष खुवाइएको दाबी पनि गरिएको छ । जसका कारण उनको मृत्यु नै भएको भनेर पनि भनिएको छ । केही पोस्टमा उनी कोमामा गएको बताइएको छ । यसैबीच खामेनीको एक्स ह्यान्डलबाट एउटा पोस्ट आएको छ, जसमा उनले इरानी राजदूतसँग भेट गरेको देखाइएको छ ।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा खामेनीका बारेमा धेरै अपुष्ट जानकारीहरू सेयर भइरहेका छन् । खामेनीले आफ्ना छोरा मोजताबा खामेनीलाई आफ्नो उत्तराधिकारी नियुक्त गरेको खबर पनि छापिएको थियो ।

खामेनी अहिले ८५ वर्षका भइसकेका छन् । उनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता छन् । यसअघि सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएको थियो ।

उनी त्यो क्रान्तिको नेता थिए । त्यसयता इरानको बागडोर निरन्तर उनको हातमा रहेको छ । उनको शासनकालमा इजरायल र अमेरिकासँगको इरानको सम्बन्ध इतिहासकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

के हो बैठकको सत्यता ?

खामेनीको एक्स अकाउन्टमा पोस्ट गरिएको फोटोमा उनी लेबनानका लागि इरानका राजदूत मोजताब अमानीसँग देखिएका छन् । यद्यपि यो फोटो कहिले खिचिएको हो ? यसको पुष्टि भएको छैन ।

‘इस्लामिक क्रान्तिका नेता अयातोल्लाह खामेनीले आज दिउँसो वरिष्ठ राजदूत अमानीलाई भेट्नुभयो, उहाँले आफ्नो दैनिक भेटघाटको बीचमा उहाँसँग भेट्नु भएको हो ।’ एक्समा लेखिएको छ ।

हालै लेबनानमा पेजर हमलामा करिब ३ हजार व्यक्ति घाइते भएका थिए । घाइते हुनेमा राजदूत अमानी पनि एक थिए । पछि इजरायलले यी आक्रमणको जिम्मेवारी लिएको थियो । यस आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

को हुन् मोजताबा ?

मोजताबा खामेनीका कान्छो छोरा हुन् । उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए ।

मोजताबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो । उनले स्नातकपछि धर्मशास्त्र अध्ययन गरेका थिए । यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए ।

आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन् । सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए । यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved