काठमाडौं । युवा बक्सर जेक पलले टेक्सासको आर्लिंगटनको एटी एन्ड टी स्टेडियममा आठ राउन्डको हेभीवेट खेलमा चर्चित पूर्वबक्सर माइक टाइसनलाई पराजित गरेका छन् ।
पलले टाइसनलाई ८०-७२, ७९-७३ र ७९-७३ पोइन्टको आधारमा पराजित गरेको ईएसपीएनले जनाएको छ । तीन जना रेफ्रिले उक्त नतिजा सर्वसम्मत भएको बताएका छन् ।
टेक्सास डिपार्टमेन्ट अफ लाइसेन्सिङ र रेगुलेसनले स्वीकृत गरेको खेल प्रत्येक राउण्ड २ मिनेटको थियो । दुबै बक्सरले १० औंस पन्जाको सट्टा १४ औंस पन्जा लगाएका थिए।
५८ वर्षिय टाइसन र २७ वर्षिय पलबीच गत जुलाई २० मा खेल हुने तय भएको थियो । तर, टाइसनले मेमा मियामीबाट लस एन्जलसको उडानको क्रममा अल्सर फ्लेयरअपको कारण खेल स्थगित गरिएको थियो ।
टाइसनले सन् १९८६ मा २० वर्षको उमेरमा सबैभन्दा कान्छो हेभीवेट च्याम्पियन बनेका थिए ।
पलले सन् २०२० मा आफ्नो बक्सिङ करियर सुरु गरेका थिए, जसमा धेरैजसो पूर्व एमएमए खेलाडीविरुद्ध लड्दै लगातार छ वटा जित हासिल गरेका छन् । पलको एक मात्र हार फेब्रूअरी २०२३ मा टमी फ्युरीविरुद्ध भएको थियो । त्यसपछि लगातार चारवटा फाइट जितेका छन् ।
Facebook Comment
Comment