रविलाई आज पोखरा फर्काइँदै

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । त्यसपछि पोखरा लगिएका उनलाई प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।

नेपालभ्युज

रविलाई आज पोखरा फर्काइँदै
फाइल तस्वीर ।

काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शुक्रबार) रुपन्देहीबाट कास्की फर्काइँदै छ ।

उनलाई हवाई उडानमार्फत् नै आज पोखरा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत बिहीबार साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि आजलाई सारिएको हो ।

बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई आज मात्र पोखरा पठाइने अवस्था आएको एक प्रहरी अधिकृतले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मंगलबार बयानका लागि रुपन्देही पुर्याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो ।

बयानका क्रममा लामिछानेसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ । उनीसँग सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । त्यसपछि पोखरा लगिएका उनलाई प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।

संसदीय छानबिन विशेष समितिले सुप्रिम सहकारीको रकमसमेत गोरखा मिडियामा ल्याएर अपचलन गरेको भन्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved