पोन्टिङले रोहित र विराटको आलोचना गरेपछि गम्भीरको जवाफ– भारतीय क्रिकेटसँग उनको के सरोकार !

नेपालभ्युज

पोन्टिङले रोहित र विराटको आलोचना गरेपछि गम्भीरको जवाफ– भारतीय क्रिकेटसँग उनको के सरोकार !

मुम्बई । भारतीय प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको प्रशंसा गर्दै उनीहरू आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा लय हासिल गर्न सक्षम रहेको बताएका छन् ।

न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट शृङ्खला ३–० ले हारेपछि कप्तान शर्मा र स्टार ब्याट्सम्यान कोहलीको आलोचना भएको छ । शर्माले तीन खेलमा जम्मा ९१ रन र कोहलीले ९३ रन बनाए ।

ब्लकबस्टर पाँच खेलको टेस्ट शृङ्खलाका लागि भारत अस्ट्रेलिया प्रस्थान गर्नुअघि बोल्दै गम्भीरले ‘विराट र रोहितका लागि कुनै चिन्ता नभएको’ बताए ।

‘उनीहरू सक्षम खेलाडी हुन्,’ उनले भने, ‘उनीहरूले भारतीय क्रिकेटका लागि धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन्,’ उनले भने ।

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले यी दुई वरिष्ठ ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएपछि गम्भीरले उनको जवाफ फर्काएका हुन् । ‘भारतीय क्रिकेटसँग पोन्टिङको के सरोकार ?’, गम्भीरले प्रश्न गरे ।

न्युजिल्यान्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गम्भीरले बताए । ‘यो घरेलु मैदानमा उनीहरूको दोस्रो टेस्ट शृङ्खला ह्वाइटवास हो । मलाई लाग्छ त्यहाँ धेरै भोक छ, विशेषगरी पछिल्लो शृङ्खलामा जे भयो त्यसपछि,’ उनले थपे ।

गम्भीरले अस्ट्रेलियामा सबैभन्दा ठूलो चुनौती भारतको तुलनामा छिटो पिच हुने बताए । त्यहाँका पिच परम्परागत रूपमा स्पिन अनुकूल छन् ।

तथापि गम्भीरले आफ्नो दबाबमा रहेको टोली नोभेम्बर २२ मा पर्थमा सुरु हुने सिरिजमा ‘पहिलो बलदेखि नै आक्रमण गर्न’ तयार रहेको उल्लेख गरे ।

‘हामी अस्ट्रेलिया धेरै पटक गएका छौँ, त्यसैले त्यो अनुभव महत्त्वपूर्ण हुनेछ,’ केही आलोचनाको सामना गरिरहेका उनले भने, ‘यदि हामीले आफ्नो क्षमताअनुसार हाम्रो सर्वश्रेष्ठ क्रिकेट खेल्यौँ भने हामी जुनसुकै विकेटमा जोसुकैलाई हराउन सक्छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved