मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

नेपालभ्युज

मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

भद्रपुर । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो ।

भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती/खैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् ।

यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए ।

“यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार एक सय ८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्”, उनले भने ।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए ।

“भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो”, उनले भने ।

भारतसँगको खुला सीमाका कारण दैनिक रुपमा मालवस्तु अवैध रुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved