अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवारबीच छोटो पुनर्मिलन, बगे धेरैका आँशु

नेपालभ्युज

अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवारबीच छोटो पुनर्मिलन, बगे धेरैका आँशु

सिउडाड जुआरेज– अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब २०० परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तलाई भेटे ।

अमेरिकामा बसाइँ सरेका आफन्तसँग मेक्सिकन परिवारलाई सीमामा केही मिनेटका लागि पुनर्मिलन गर्न अनुमति दिइँदा धेरैका आँखामा आँशु बगे । उनीहरू अङ्कमाल गरेर धेरैबेर रोएका थिए । । वयस्कसँगै बालबालिकाले पनि आफ्ना प्रियजनहरूलाई भेट्न रियो ग्रान्डे नदी पार गरेका थिए ।

यस वर्ष आप्रवासी अधिकार अभियान समूहद्वारा आयोजित वार्षिक कार्यक्रम अमेरिकी राष्ट्रपति चुनावभन्दा तीन दिनअघि भएको थियो । निर्वाचनको महिनौँ लामो प्रचारमा आप्रवासन र सीमा सुरक्षामा धेरै ध्यान केन्द्रित गरिएको छ । पुनर्मिलन कार्यक्रम आप्रवासी अधिकारको रक्षा नेटवर्कका अनुसार बढाइएको सुरक्षाका बीच सम्पन्न भएको थियो ।

‘हाम्रो समुदायमा काँडेतार थिएन, यति धेरै सैनिकहरू तैनाथ थिएनन्,’ गत दशकदेखि पुनर्मिलन सुरु भएयता सीमामा आएका सुरक्षा परिवर्तनहरूलाई उजागर गर्दै संस्थाका निर्देशक फर्नान्डो गार्सियाले भने, ‘परिवारहरूले यो कार्यक्रम गर्न सकुन् भनेर काँडेतार खोल्नु परेको थियो ।’

गार्सियाले मङ्गलबारको चुनावमा जसले जिते पनि अमेरिकातर्फको आप्रवासन जारी रहने अपेक्षा गरेका छन् । उनले पारिवारिक पुनर्मिलन पनि जारी रहने बताए ।

‘निर्वासन नीति, सीमा नीति, आप्रवासन नीतिले परिवारहरूलाई असाधारण तरिकाले विभाजित गरिरहेको छ र यी परिवारहरूमा गहिरो प्रभाव पारिरहेको छ,’ उनले कार्यक्रमअघि पत्रकारहरूलाई बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved