जलेश्वर । तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारतीय रुपैयाँका लागि १६६ नेपाली रुपैयाँ तिर्दै आएका छन् ।
नेपाली ग्राहकसँग भारू नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताए ।
महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा कमिशन लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताए । उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारू एक सयको बदलामा नेरू एक सय ६६ र बढीमा एक सय ६८ सम्म कमिशन लिने गरेको जानकारी दिए ।
जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेले भनिन्, ‘त्यहाँका व्यापारीले मलाई नेपाली एक हजार रुपैयाँको सरदर भारू ६०० मात्र दिए । त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौं भनेपछि त्यत्तिमै कारोबार गरेर आएँ ।’
त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेरू एक हजारको सरदर भारू ६०० मा कारोबार गरेको बताए । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले समेत आफूहरूले त्यहाँ किनमेल गर्दा भारू एक सयको लागि एक सय ६६ नेरू तिर्नुपरेको बताए ।
त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताए । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारू एक सयका लागि नेरू एक सय ६६ लिएका छन् भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारूको नेरू एक सय ६६ लिने गरेका छन् ।
बजारमा भारतीय पैसाको अभाव हुनुले नेपाली ग्राहकले ६ रुपैयाँसम्म अतिरिक्त पैसा तिर्नुपरेको बताइएको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको पाइएको छ । यस्तै नेरूमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले एक हजार रुपैयाँ बराबर नेपाली एक हजार ६०० दिएमात्र सामान पाउने गरेका छन् । कुनै–कुनै ठाउँमा सात–आठ रुपैयाँसम्म पनि कमिशन लिने गरेको एक ठूला व्यापारीले बताए ।
यता नेपाली बजारमा मालवस्तु महँगा र भारतीय बजारमा सस्ता छन् । यस्तोमा कमिशन लिँदा पनि भारतीय बजार सस्तो पर्ने भएकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको हो । –रासस–
Facebook Comment
Comment